Monday, June 14, 2021

बिस्तारै पहाड उक्लदै सलह

Share This

असार १३, धादिङ्ग । शनिबार बिहान बाराको निजगढ–१३ रतनपुर क्षेत्रमा हुलका हुल फट्यांग्राहरु देखिए । स्थानीयमा त्यसबारे सोधखोज हुन थाल्यो । स्थानीय कृषि प्राविधिकहरु आइपुग्दा धेरै फट्यांग्रा बोट विरुवा बस्न थालिसकेको थिए । प्राविधिक आएर हेरेपछि भनिदिए, ‘नेपालमा पनि सलह भित्रिएछ ।’ निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विसकसेन ढकालले भन्नुुभयो, ‘अहिले खेतीपातीको समय भएकाले हाम्रो कृषि प्राविधिकहरु फिल्डमै हुनुहुन्थ्यो । उहाँहरुले विहानै देख्नु भएपछि हामीलाई खबर गर्नुभयो । लगतै जिल्ला कृषि ज्ञान केन्द्र, बारामा खबर पुग्यो । लगतै खटिएको टोलीले नेपालमा सलह भित्रिएको पुष्टि गरेको केन्द्रका प्रमुख जितेन्द्र यादवले बताउनुभयो । ‘हाम्रो टोलीले हेर्दा पानी परिरहेको थियो र किराहरुको सानो झुण्ड रुखमा बसिरहेको थियो । पानी रोकिएपछि सलहले तरकारी बाली खान थाल्यो ।’

फट्यांग्राकै एक प्रजतिका रुपमा रहेको सलह अनिकाल निम्त्याउने किराका रुपमा परिचित छ । यसले बालीनालीमा एकसाथ ठूलो संख्यामा बसेर बालीसहित बोट खाने गर्छ । छिमेकी पाकिस्तान र भारतमा किसानलाई दुःख दिएको सलह नेपालमा नआउने कृषि मन्त्रालयको अध्ययन टोलीले दाबी गरेको थियो । तर मनसुन सुरु भएलगतै नेपालमा प्रवेश मात्र गरेन, एकै दिनमा बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, मकवानपुर, सिन्धुली, काभ्रे र पाल्पामा सलहको झुण्ड भेटिएको छ । सलहको हुलले एक दिनमा १३० देखि १५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्छ । सर्लाहीको तेलबाली अनुसन्धान कार्यक्रमको कार्यालय परिसरमा विहानै सलह भेटिएको थियो । सलहको विशाल झुण्ड त्यहाँका बोट विरुवामा झुम्मिएका थिए । कार्यक्रम प्रमुख वीपी यादवका अनुसार शुक्रबार साँझ ८ बजेसम्म किरा देखिएको थिएन । बिहान सवा ६ बजेतिर किरा देखिन थाल्यो ।

अहिले हजारौंको संख्यामा जम्मा भएका छन् । ‘चना, धानका बोटहरु खाँदै छ, हामीले प्रमुख जिल्ला अधिकारीलाई र मन्त्रालयमा जानकारी गरायौं,’ उहाँले भन्नुभयो । उहाँका अनुसार सलहले गर्ने क्षति कम गर्न स्थानीय र कृषि प्राविधिकहरुले विषादी छर्किनुका साथै थाल ठटाएका छन् । चर्को ध्वनीले सलह किरा भाग्छ । पर्साको पर्सागढी नगरपालिका–३, बढ्निहारस्थित चैते धानबालीमा शनिबार बिहानै सलहको बथान देखा परेको थियो । खेतमा काम गरिरहेका बेला हजारौंको संख्यामा सलहको बथान आफ्नो १९ कठ्ठाको धानबालीमा आएर बसेको किसान अर्जुन नेपालले बताउनुभयो । ‘बिहान म खेतमा आली लगाउन आएको थिए, अचानक फट्यांग्राको झुण्ड मेरै चैते धानबालीमा आएर बस्यो,’ उहाँले भन्नुभयो, ‘धानको डाँठ पनि खान थाल्यो, त्यसपछि बुबा, म र दाइ मिलेर धानबालीमा पसेर बोट हल्लायौं, फटयांग्राको बथान नजिकको जंगल तिर उडेर गयो ।’ सलह किरा रौतहटका विभिन्न स्थानीय तहमा पनि पलिकामा देखिएको छ । चन्द्रपुर र गुजरा नगरक्षेत्रमा सलहको हुल भेटिएको स्थानीय बासिन्दाहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *